काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार भोलि देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भोलि राति अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले भोलिसम्म केही सीमित स्थानमा मात्रै भारी वर्षाको सम्भावना रहे पनि अधिकांश क्षेत्रमा ठूलो वर्षाको जोखिम कम रहेको जनाएको छ। पछिल्ला दिनमा मनसुन सक्रियता क्रमशः कमजोर बन्दै गएकाले भारी वर्षाको क्रम पनि बिस्तारै घट्दै गएको मौसमविद्हरूले बताएका छन्।
