नेपालभाषाकी पहिलो आधुनिक कवयित्री नारायणदेवी श्रेष्ठको निधन

काठमाडौं, साउन १९ — नेपालभाषाकी पहिलो आधुनिक कवयित्री तथा विशिष्ट साहित्यकार नारायणदेवी श्रेष्ठको सोमबार साँझ ९२ वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौंको बसुन्धरास्थित चिरायु अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको परिवारले जनाएको छ। उ

हाँका माइला छोरा दिनेश श्रेष्ठले आमाको निधन भएको पुष्टि गर्नुभएको हो। परिवारका अनुसार श्रेष्ठ केही समयदेखि जन्डिसबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बिहीबार उहाँलाई चिरायु अस्पतालमा भर्ना गरिएको थियो।

परिवारका अनुसार उहाँको पार्थिव शरीरको अन्तिम संस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा गरिनेछ। उहाँका दुई छोरा र एक छोरी छन्। नारायणदेवी श्रेष्ठ नेपालभाषाको पहिलो पुस्ताकी अग्रणी तथा पहिलो आधुनिक कवयित्रीका रूपमा परिचित हुनुहुन्थ्यो।

उहाँले आफ्नो साहित्यिक यात्रामार्फत नेपालभाषा कविता, गीत र साहित्यलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विशेषगरी महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र उत्पीडनविरुद्ध उहाँका सिर्जनाले सशक्त आवाज उठाएका छन्।

उहाँका लेखनले नेपाली समाजमा चेतना, समानता र न्यायको पक्षमा गहिरो प्रभाव पारेको साहित्यकारहरूको भनाइ छ। उहाँको चर्चित कविता तथा गीत “पासा उगु दिन वइतिनी, म्हयाय् बुल धाय् ख्वइमखु मापिं” (साथी, त्यस्तो दिन पनि आउनेछ, छोरीको जन्ममा रुनेछैनन् आमाहरू) नेपालभाषा साहित्यको ऐतिहासिक र परिवर्तनकारी सिर्जनामध्ये एक मानिन्छ। उक्त रचनाले तत्कालीन समाजमा महिलाले भोग्नुपरेका विभेद, पीडा र असमान अवस्थालाई मार्मिक र प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।

छोरीप्रतिको विभेद र लैङ्गिक असमानताविरुद्ध लेखिएको यो कविता आज पनि महिला अधिकारको सशक्त आवाजका रूपमा स्मरण गरिन्छ। श्रेष्ठले आफ्नो जीवनभर नेपालभाषा साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउनुभयो। उहाँका कविता र साहित्यिक कृतिहरूले सामाजिक परिवर्तन, मानवीय संवेदना र समानताको सन्देश बोकेका छन्। उहाँका सिर्जनाले नयाँ पुस्ताका साहित्यकार तथा पाठकलाई निरन्तर प्रेरणा दिइरहेका छन्।

उहाँको निधनसँगै नेपालभाषा साहित्यले एक अग्रज स्रष्टा, प्रगतिशील चिन्तक र समाजप्रति उत्तरदायी साहित्यिक व्यक्तित्व गुमाएको छ। यद्यपि उहाँका कृति, विचार र साहित्यिक योगदान नेपाली समाज तथा नेपालभाषा साहित्यको इतिहासमा सदैव जीवित रहनेछन्।