बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले आपूर्ति र वितरणलाई सहज बनाउन सक्रिय पहल थालेको छ। कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरामा रहेका ग्यास बिक्रेतालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न तथा नियमित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। उनले पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीसँग समन्वय भइरहेको र केही दिनभित्र तीनवटा ग्यास बुलेट पोखरा भित्रिने जानकारी दिए।
यसअघि प्रशासनको अगुवाइमा बसेको सरोकारवालाको बैठकले ग्यासको आपूर्ति, बिक्री र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो। ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न तथा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ।
प्रशासनले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि अनुरोध गरेको छ। साथै, उपभोक्ता र बिक्रेता दुवैलाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र कालोबजारीमा संलग्न नहुन चेतावनी दिइएको छ।
प्रशासनले ग्यास उद्योगलाई पनि बिक्रेतामार्फत हुने वितरणको नियमित अनुगमन गर्न आग्रह गरेको छ। बजारमा कुनै अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सबै पक्षलाई अनुरोध गरिएको छ।
