काठमाडौं । नेपाली तथा नेपालभाषाको गीत–संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका वरिष्ठ गायक तथा संगीतकार रत्न ‘बेहोसी’ बज्राचार्यको निधन भएको छ।
आज ९१ वर्षको उमेरमा निधन भएका बेहोसी नेपाली तथा नेपालभाषाको संगीत क्षेत्रका अग्रज स्रष्टाका रूपमा परिचित थिए। उनले बाल्यकालदेखि नै नाटक तथा संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए।
लोकगायक रत्न बेहाशी बज्राचार्यज्यूको अन्तेयष्टि अघि पार्थिव शरीरलाई नेपालभाषा मंकाः खलः यल (ललितपुर) त्यागः पिलाछेॅमा करिब ५ः३० बजेसम्म श्रदांजलीका लागि राखिएको थियो। त्येसपछि पशुपतिमा विद्युत शवदाह गृहमा अन्तेयष्टि गरिएको थियो।
बेहोसीले वि.सं. २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी प्रत्यक्ष प्रसारणमार्फत गीत गाएका थिए। उनका समकालीनमा स्वरसम्राट् नारायणगोपाल, प्रेमध्वज प्रधान, नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर तथा भक्तराज आचार्यलगायतका स्रष्टा रहेका थिए।
उनले नेपालभाषामा करिब ५० तथा नेपाली भाषामा कम्तीमा १० वटा गीतमा स्वर दिएका थिए। उनका स्वर तथा रचना रहेका दर्जनौँ गीतहरू क्यासेटमा समेत सुरक्षित छन्।
नेपाली तथा नेपालभाषाको गीत–संगीतको विकासमा पुर्याएको योगदानका लागि उनलाई यसअघि ललितरत्न सम्मान तथा गणेशदेवी स्मृति पुरस्कार प्रदान गरिएको थियो। २०८२ भदौमा नेवाः साधना कला केन्द्रले उनको ९०औँ जन्मदिनको अवसरमा ‘नेपालरत्न सम्मान’ समेत प्रदान गरेको थियो।
उनको निधनसँगै नेपाली तथा नेपालभाषाको संगीत क्षेत्रले एक अग्रज साधक गुमाएको छ।
