नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समय विरामी थिए । नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो ।
‘फूलको आँखामा फूलै संसार’ लगायत नेपालभाषा तथा नेपाली भाषाका अनगिन्ती कालजयी गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ। श्रेष्ठको निधनले नेपाली साहित्य, कला, संस्कृति तथा नेपालभाषाको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
सरल, सशक्त र जनमुखी अभिव्यक्तिका माध्यमबाट श्रेष्ठले साहित्यलाई आम जनजीवनसँग जोड्नुभएको थियो। उहाँका अमर सिर्जना र विचारहरू नेपाली साहित्य तथा सांस्कृतिक क्षेत्रमा सदैव जीवित रहने छ।
उहाँको अन्तिम संस्कार कहाँ र कसरी गर्ने भन्ने विषयमा परिवारसँग छलफल भइरहेको र सम्भवतः उहाँको अन्तिम संस्कार भोलि गरिने कुरा बुझिएको छ।
