काठमाडौँ – भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको हो।
प्राधिकरणकाअनुसार बाढीमा बेपत्ता भई मृत्यु भएकाहरुको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ। चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ। अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ। सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ।
बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन्। यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन्। बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेका छन्। प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने कार्य भइरहेको जनाएको छ।
हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ। घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपश्चात् डिस्चार्ज भएका छन्। नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका छन्। विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन्।
उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्। उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन्।
सरकारले राहत वितरण प्रक्रियालाई पनि तिब्रता दिएको छ। रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ।
पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ। प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ।
