बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ९ जना विदेशी पनि काठमाडौँ ल्याइए

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीको अवरोध खुलेपछि आएको आकस्मिक बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार २०८३ असोज २५ गते बिहान करिब ४ः३० बजे लेदो तथा गेग्रानसहित आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

घटनापछि नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट खोज तथा उद्धारका लागि फौज परिचालन गरेको थियो। नेपाली सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

उद्धार गरिएकामध्ये जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट ३ जना, फिलिमबाट २ जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट ३ जना, देङ्गबाट ३ जना र धौलीबाट ३ जना रहेका छन्।

उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ। सेनाले पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको थियो। साथै, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीले नदी तटीय तथा आसपासका क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थान र उच्च भूभागमा जान आग्रह गरेको छ। अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ। बाढीबाट भएको क्षतिको थप विवरण तथा प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।