केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको चार महिना पुग्न लाग्दा मन्त्रिपरिषद् हेरफेरको तयारी सुरु भएको छ। आफ्नो आशन्न चीन भ्रमण अगावै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली रहेको निकटस्थ स्रोतले जानकारी दियो ।
स्रोतले मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँलाई भित्र्याउने र पुरानालाई बिदावारी गर्ने तयारीमा ओली रहेको बतायो । को–को मन्त्रीको जिम्मेवारी हेरफेर हुने भन्नेबारे ओलीले केही खुलाएका छैनन् ।
कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेलाई हटाउनुपर्ने विषयमा कांग्रेसभित्र कुरा उठिरहेका बेला नेतृत्व तहमा छलफलको विषय बनेको हो। लेखक देउवा क्याम्पबाट मन्त्री बने पनि उनले महामन्त्री गगन थापा निकट रहेर काम गरिरहेको भन्दै उनलाई फिर्ता बोलाउनुपर्ने आवाज भित्रभित्रै बढ्न थालेको छ।
त्यस्तै, एमालेबाट मन्त्री भएकाहरुले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै उनीहरुको ठाउँमा नयाँ नेताहरुलाई लानु पर्ने चर्चा सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको कामका विषयमा प्रश्न उठ्न थालेको छ।
तर, एमालेले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चाहनाअनुसार मन्त्री नियुक्त भएकाले हेरफेरका विषयमा पनि उनको एकल निर्णयले नै काम गर्नेछ।
एमालेका एक नेताले भने, ‘हाम्रो पार्टीमा कसलाई राख्ने कसलाई फिर्ता गर्ने भन्ने कुरा अध्यक्षलाई मात्रै थाहा हुन्छ। हामीले त भएपछि थाहा पाउने हो। तर मन्त्रीको काम प्रभावकारी नभएको देखिन्छ।’
मन्त्री बनेको १०० दिनमा गरेको कामका आधारमा केही मन्त्री प्रधानमन्त्री ओलीको ‘रेड जोन’मा रहेको निकटस्थ स्रोत बताउँछ । तर, हट्ने मन् त्री यीनै हुन् भन्ने निश्चित गर्न भने नसकिने ओली निकट स्रोतले बतायो ।
