उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला विरुद्ध सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् ।
खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् ।
यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक-पटक प्रदर्शन गर्दै आएका थिए । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।
सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो । उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
