ललितपुरको पाटन दरबारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष हिजो कात्तिक २७ गतेदेखि प्रदर्शन भएको छ ।
ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भइरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नाच हरेक १२ दिनसम्म साँझ ७ बजेदेखि नियमित रूपमा सञ्चालन हुने छ । “यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, प्रत्येक दिन फरक फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ, यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ, सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच चलाएको जनविश्वास छ,” उहाँले भन्नुभयो ।
नेपाल संवत् ७६१ (विसं १६९७) मा राजा सिद्धिनरसिंह मल्लले सुरु गराएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला तथा धार्मिक आख्यानलाई नृत्य र नाट्यका माध्यमबाट प्रस्तुत गरिन्छ।
यस वर्ष भक्त सुरदास प्याखं, माधवानल लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण र दधि लीलालगायत प्रस्तुति समावेश गरिएको छ।
कार्तिक नाचको संरक्षण र निरन्तरताका लागि समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ। यस वर्ष नाच सञ्चालनका लागि ललितपुर महानगरपालिका–१६ ले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
ऐतिहासिक स्वरूपअनुसार कार्तिक नाचलाई पुनः २७ दिनसम्म सञ्चालन गर्ने तथा विश्वको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत गराउने तयारीसमेत भइरहेको समितिले जनाएको छ।
