भारतीय सङ्गीत जगतकी नक्षत्र आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि हालै उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
छातीमा सङ्क्रमण र अत्याधिक थकानका कारण अस्पताल भर्ना भएकी भोसलेको उपचार आपतकालीन कक्षमा भइरहेको छ।
उनको स्वास्थ्य अवस्थाबारे चासो राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत हृदयघातको हल्लालाई गलत सावित गर्दै छातीको सङ्क्रमणबारे स्पष्ट पारेकी छिन्।
९ वर्षको कलिलो उमेरमा बुबा गुमाएकी आशाले परिवारको आर्थिक भार सम्हाल्न दिदी लता मंगेशकरसँगै गायन यात्रा सुरु गरेकी थिइन्।
१६ वर्षको उमेरमा गणपतराव भोसलेसँग प्रेम विवाह गरेपछि परिवारसँग केही समय सम्बन्ध बिग्रिए पनि उनले आफ्नो सङ्गीत साधनामा कहिल्यै सम्झौता गरिनन्।
सात दशक लामो करिअरमा १२ हजारभन्दा बढी गीत गाएकी भोसलेको नाममा थुप्रै फिल्मफेयर अवार्ड, दादासाहेब फाल्के पुरस्कार र पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मानहरू रहेका छन्।
उनले नेपाली सङ्गीतमा पनि ‘मोहनी लाग्ला है’ र ‘एउटा मान्छे मनपर्छ’ जस्ता सदाबहार गीतहरू दिएर नेपाली श्रोताको मनमा विशेष स्थान बनाएकी छिन्।
