नेपालको पहलमा आज पहिलो ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ भव्य रूपमा मनाइँदै

काठमाडौँ — नेपालको विशेष प्रस्तावमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ आज विश्वभर पहिलो पटक मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले गत फागुन २६ गते नेपालको प्रस्तावलाई अनुमोदन गर्दै हरेक वर्ष अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन लागिएको हो।

यस दिवसको मुख्य लक्ष्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासहरूलाई प्रोत्साहन गर्नु रहेको छ। उपचारभन्दा रोकथामलाई प्राथमिकता दिने र स्वस्थ जीवनशैलीमार्फत स्वास्थ्य खर्च न्यूनीकरण गर्ने नेपालको अवधारणालाई विश्वले स्वीकार गरेको छ। दिवसको अवसरमा आज बिहान काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा विशेष समारोहको आयोजना गरियो। राष्ट्रसंघले आदिवासी जनजातिका परम्परागत ज्ञान र प्रमाणमा आधारित चिकित्सा पद्धतिलाई पनि यस दिवसमार्फत विशेष महत्त्व दिएको छ।