ह्वाइट हाउस डिनरमा आक्रमण: ट्रम्प र भेन्सको ज्यान लिने प्रयास, आक्रमणकारी ३१ वर्षीय एलन पक्राउ

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको अति विशिष्ट रात्रिभोज (डिनर) कार्यक्रममा गोली चलेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससमेत उपस्थित उक्त कार्यक्रमलाई लक्षित गरी भएको यो आक्रमणले अमेरिकामा पुनः एकपटक सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरीले आक्रमणकारी ३१ वर्षीय कोल टमस एलनलाई पक्राउ गरेको छ। क्यालिफोर्नियाका बासिन्दा एलन पेशाले पार्ट-टाइम शिक्षक र भिडियो गेम डेभलपर हुन्।

शिक्षित र बौद्धिक भनिएका व्यक्तिले नै राज्यका उच्च अधिकारीको ज्यान लिने दुस्साहस गर्नुले सुरक्षा संयन्त्रमाथि ठूलो चुनौती थपेको छ।

आक्रमणकारी सोही होटलमा पाहुनाका रूपमा बसेका थिए। प्रहरीका अनुसार एलनले साथमा सटगन, ह्यान्डगन र घातक चक्कुहरू बोकेका थिए।

उनलाई गम्भीर घाइते अवस्थामा नियन्त्रणमा लिई अस्पताल भर्ना गरिएको छ। अमेरिकी अटर्नीका अनुसार उनलाई हिंसात्मक अपराधमा हतियार प्रयोग र संघीय अधिकारीमाथि आक्रमण गरेको अभियोग लगाइएको छ।

उनलाई सोमबार संघीय अदालतमा उभ्याइनेछ। स्मरण रहोस्, सन् २०२४ को जुलाईमा ट्रम्पमाथि भएको गोली प्रहारको घटना सेलाउन नपाउँदै भएको यो पछिल्लो आक्रमणले विश्वको शक्तिशाली राष्ट्रमा राजनीतिक हिंसाको शृङ्खला फेरि सुरु भएको त होइन भन्ने डर पैदा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका नेताहरूले लोकतन्त्रमा हिंसाको कुनै स्थान नहुने भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्।