काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथजात्रा यतिबेला उत्कर्षमा पुगेको छ ।
अविरल वर्षाको पर्वाह नगरी भक्तजनहरूले हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहाबाट तानेर लगनखेलसम्म सफलतापूर्वक पुर्याएका छन् ।
बसपार्कस्थित रुखलाई रथले परिक्रमा गर्ने परम्परालाई निरन्तरता दिँदै वर्षाको देवताप्रति श्रद्धा प्रकट गरिएको छ ।
रथ लगनखेल पुगेसँगै आज परम्परागत महाबली पूजा सम्पन्न हुँदैछ । जात्राको सबैभन्दा आकर्षण मानिने ‘नरिवल खसाल्ने जात्रा’ आउँदो बुधबारका लागि तय गरिएको छ ।
लगनखेल पुगेको चौथो दिनमा यो जात्रा मनाउने प्राचीन परम्परा छ । बुधबार नरिवल खसालिएको भोलिपल्ट बिहान महिलाहरूले मात्र रथ तान्ने विशेष परम्परा रहेको छ ।
त्यसपछि रथलाई इटीटोलमा थन्क्याइन्छ र जावलाखेल लैजानका लागि ज्योतिषीय साइतको प्रतीक्षा गरिन्छ ।
अन्ततः जावलाखेलमा पुर्याइएको चौथो दिन राष्ट्रप्रमुखको उपस्थितिमा ‘भोटो जात्रा’ सम्पन्न भएसँगै यो वर्षको ऐतिहासिक रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन हुनेछ ।
