प्रि-आईपीओ’ को अवैध धन्दामा नफस्नुहोस्: धितोपत्र बोर्डको कडा चेतावनी, ठगी गर्नेलाई कारबाहीको संकेत

काठमाडौं । शेयर बजारमा लगानी गर्ने नाममा सर्वसाधारणलाई लुट्ने ‘प्रि-आईपीओ’ को अवैध धन्दा मौलाएपछि नेपाल धितोपत्र बोर्डले कडा कदम चालेको छ।

फेसबुक, ह्वाट्सएप र भाइबरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही संगठित संस्थाहरूले निकट भविष्यमा आईपीओ आउने भन्दै अवैध रूपमा पैसा संकलन गरिरहेको भन्दै बोर्डले सर्वसाधारणलाई सचेत गराएको छ।

धितोपत्र बोर्डले यस्तो कार्यलाई पूर्णतः गैरकानुनी र ठगीको रूपमा परिभाषित गरेको छ। प्रचलित कानुनअनुसार ५० जनाभन्दा बढीलाई शेयर बिक्री गर्नुपरेमा अनिवार्य रूपमा सार्वजनिक निष्कासन प्रक्रिया (IPO) पूरा गर्नुपर्छ।

कानुन छल्दै ‘प्रि-आईपीओ’ को झुठो आश्वासन बाँडेर सर्वसाधारणको खल्ती रित्याउने समूहहरू सक्रिय रहेकाले त्यस्ता प्रलोभनमा नपर्न बोर्डले आग्रह गरेको छ।

नियमविपरीत रकम संकलन गर्नेमाथि कडा निगरानी राखिएको र कानुन बमोजिम कारबाही हुने चेतावनी बोर्डले दिएको छ।