जनताको ढाड सेक्दै सरकार: तीन हप्तामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

महँगीको मारमा पिल्सिएका सर्वसाधारणलाई सरकारले पुनः ठूलो झड्का दिएको छ।

चैत २५ गते मात्रै २१ प्रतिशतसम्म भाडा बढाएर आलोचना खेपेको सरकारले तीन हप्ता नबित्दै फेरि यातायातको भाडादरमा पाँच प्रतिशतको वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यात्रुवाहक र मालवाहक दुवै सवारी साधनको भाडा बढाएको हो।

बैशाख १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गरेसँगै अब अन्तरप्रदेश चल्ने सवारी साधनले थप महँगो भाडा असुल्न पाउने भएका छन्।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको बहाना बनाउँदै सरकारले फेरि एकपटक नागरिकको भान्सामा प्रत्यक्ष असर पर्ने गरी यातायातको मूल्य बढाएको छ।

पटक–पटकको मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकिँदा समेत सरकारले यसको नियन्त्रण वा विकल्पबारे सोच्ने फुर्सद पाएको छैन, जसले आम जनतामा आक्रोश बढाएको छ।