काठमाडौँ । सुस्त बनेको अर्थतन्त्रलाई गति दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सर्जिकल अपरेसन’को तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट परम्परागत नभई जनता र लगानीकर्तामा आशा जगाउने खालको हुने दाबी गरे ।
अर्थमन्त्रीले अब सरकारले मात्र अर्थतन्त्र धान्न नसक्ने स्वीकार गर्दै निजी क्षेत्रलाई विकासको मुख्य ‘इन्जिन’ बनाउने कठोर संकल्प गरेका छन् । देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा सरकारको हिस्सा मात्र २५-३० प्रतिशत रहेको यथार्थ ओकल्र्दै उनले बाँकी ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई उपेक्षा गरेर १०० अर्ब डलरको अर्थतन्त्र बन्न नसक्ने ठोकुवा गरे ।
विशेष गरी, लगानीको वातावरण बिगार्ने र उद्यमशीलतामा तगारो बनेका करिब दुई दर्जन पुराना ऐनहरू खारेज गर्ने मन्त्री वाग्लेको तयारीले निजी क्षेत्रमा नयाँ तरङ्ग पैदा गरेको छ । मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि रणनीतिक प्रस्ताव पुगिसकेको जानकारी दिँदै उनले अबको कर प्रणाली राजस्व उठाउने माध्यम मात्र नभई लगानीमैत्री औजार हुने स्पष्ट पारे । सामाजिक बजार अर्थतन्त्रको जगमा टेकेर शिक्षा, स्वास्थ्य र यातायातमा समतामूलक वितरण गर्दै निजी क्षेत्रको नवप्रवर्तनलाई प्रोत्साहन दिने सरकारको रणनीति छ ।
