अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध जारी युद्ध जुनसुकै मुल्यमा पनि जितेरै छाड्ने बताएका छन्। आज चीन प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ईरानले या त सम्झौताको बाटो रोज्नुपर्ने, नभए विनाशको सामना गर्न तयार हुन पनि उनले चेतावनी दिए।
उनले परिस्थितिलाई नियन्त्रणमा लिन अमेरिकासँग सबै विकल्प खुला रहेको पनि बताए। ट्रम्पका अनुसार चीनका राष्ट्रपति सी जिनपिङसँग हुने वार्तामा ईरान युद्ध र ‘स्ट्रेट अफ होर्मुज’ संकटबारे पनि छलफल हुने जानकारी दिए। यद्यपि, उनले व्यापार नै दुई नेताबीचको भेटवार्ताको मुख्य एजेन्डा रहने स्पष्ट पारे।
अल जजिराको रिपोर्टअनुसार ७४ दिन लामो युद्धमा अमेरिकाले अहिलेसम्म कम्तीमा २९ अर्ब डलर खर्च गरिसकेको छ। यो रकम केवल हतियार र सैन्य उपकरणमा खर्च भएको हो। सैन्य अड्डाहरूमा भएको क्षतिको खर्च भने यसमा समावेश गरिएको छैन।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले अतिरिक्त रक्षा बजेट माग गर्दै कांग्रेस पुगेका छन्। उनले विश्वकै सबैभन्दा प्रभावशाली सैन्य शक्ति कायम राख्न अमेरिकालाई १.५ लाख करोड डलर आवश्यक पर्ने बताएका छन्। हेगसेथले अमेरिकासँग अझै पनि विभिन्न सैन्य विकल्पहरू रहेको र आवश्यक परे संघर्ष थप चर्काउने विकल्प पनि खुला रहेको बताए।
यसअघि ट्रम्पले ईरानसँगको हालको युद्धविराम अहिले ‘भेन्टिलेटर’ मा रहेको बताएका थिए। उनले ईरानसँगको वार्ताका क्रममा आफूले अमेरिकी जनताको आर्थिक अवस्थाभन्दा पनि ईरानलाई परमाणु हतियार प्राप्त हुन नदिनेलाई सबैभन्दा ठूलो प्राथमिकता दिने बताएका छन्।
पत्रकारले अमेरिकामा बढ्दो महँगी र आर्थिक दबाबले उनलाई ईरानसँग सम्झौता गर्न बाध्य बनाइरहेको हो कि भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले, भने ‘पटक्कै होइन’ ‘जब म ईरानको विषयमा कुरा गर्छु, मेरो लागि एउटै कुरा महत्वपूर्ण हुन्छ उनीहरूलाई परमाणु हतियार प्राप्त हुनु हुँदैन।’
ईरान युद्धका कारण ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको छ। यसको असर अमेरिकामा पेट्रोल, डिजेल तथा खाद्य सामग्रीको मूल्यमा समेत परेको छ। बढ्दो तेल मूल्यले यातायात र दैनिक उपभोग्य वस्तुको लागत पनि महँगिएको छ। यो सँगै ट्रम्पलाई आगामि डिसेम्बरमा हुने संसदको निर्वाचनमा कडा असर पर्न सक्ने आँकलन गरिएको छ।
