ह्याट्रिकबाट चुकेका मेसी

काठमाडौं। लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि इन्टर मियामीले बिहीबार बिहान सिन्सिनाटीमाथि ५–३ को रोमाञ्चक जित दर्ता गरेको छ।

यससँगै मियामीले लगातार सातौं अवे जित हासिल गरेको हो।

यस सिजन मेसीले कम्तीमा तीन गोलको योगदान गरेको यो तेस्रो खेल हो। उनी अहिले लिगमा १२ गोलसहित दोस्रो स्थानमा छन्।

जर्मन बेर्टरामेले ८४औं मिनेटमा निर्णायक गोल गर्दै मियामीलाई अग्रता दिलाए। त्यसअघि वैकल्पिक खेलाडी मातेओ सिल्भेट्टीले ७९औं मिनेटमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए।

सिन्सिनाटीका लागि केभिन डेन्की, पाभेल बुचा र एभान्डरले गोल गरे। प्रशिक्षक प्याट नुननको नेतृत्वमा २०२३ यता ७५औं मिनेटपछि अग्रता जोगाउन नसकी सिन्सिनाटी पराजित भएको यो पहिलो पटक हो।

मेसीले २४औं मिनेटमा गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाएका थिए। उनको प्रहार सिन्सिनाटीका म्याट मियाज्गालाई लागेर गोलमा परिणत भएको थियो। त्यसपछि ४१औं मिनेटमा डेन्कीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए।

४९औं मिनेटमा बुचाले गोल गर्दै सिन्सिनाटीलाई २–१ को अग्रता दिलाए। तर, त्यसको ६ मिनेटपछि मेसीले लुइस सुआरेजको पासमा गोल गर्दै खेल २–२ बनाए।

६४औं मिनेटमा एभान्डरले बक्स बाहिरबाट सानदार गोल गर्दै सिन्सिनाटीलाई फेरि ३–२ को अग्रता दिलाए। तर, त्यसपछि मियामीले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

सिल्भेट्टीको बराबरी गोलपछि सेट–पिसको अवसरमा सिन्सिनाटीका आन्द्रेई चिरिला गोलकिपर रोमन सेलेन्टानोसँग ठोक्किए, जसको फाइदा उठाउँदै बेर्टरामेले खाली पोस्टमा गोल गरे।

८९औं मिनेटमा मेसीको प्रहार पोस्टमा लागेर गोलकिपर सेलेन्टानोमा ठोक्किँदै गोलमा परिणत भयो। सुरुमा यसलाई मेसीको ह्याट्रिक गोल मानिए पनि पछि आत्मघाती गोल मानियो। यदि त्यो गोल मेसीकै नाममा गएको भए उनको करिअरको ६१औं ह्याट्रिक हुने थियो।

मेसीले नियमित सिजनका ६५ खेलमा हालसम्म ६१ गोल र ४२ असिस्ट गरेका छन्।