बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
७ः१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन्। दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
