काठमाडौं। लस एन्जलसमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेन अब फाइनल प्रवेशका लागि अर्को युरोपेली फुटबल महाशक्ति फ्रान्ससँग भिड्नेछ।
पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको थियो।
अब बेल्जियमलाई हराउँदै स्पेन पनि सेमिफाइनलमा पुगेपछि युरोपका दुई शक्तिशाली टोलीबीचको बहुप्रतीक्षित भिडन्त तय भएको छ। सेमिफाइनल खेल आगामी जुलाई १५ मा हुनेछ।
बेल्जियमविरुद्ध स्पेनले पहिलो हाफमै फाबियन रुइजको गोलमार्फत अग्रता लिएको थियो। तर चार्ल्स डे केटेलारेले बराबरी गोल फर्काउँदै बेल्जियमलाई खेलमा फर्काए।
दोस्रो हाफमा भने बेल्जियमले ठूलो धक्का बेहोर्यो, जब पहिलो रोजाइका गोलरक्षक थिबो कोर्टुवा चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए। त्यसको फाइदा उठाउँदै खेलको अन्त्यतिर मिकेल मेरिनोले डिबक्सभित्रको रिबाउन्ड बललाई उत्कृष्ट रूपमा गोलमा परिणत गर्दै स्पेनलाई २–१ को जित दिलाए।
हालसम्म प्रतियोगितामा अपराजित रहेको फ्रान्स र उत्कृष्ट लयमा रहेको स्पेनबीचको सेमिफाइनललाई धेरैले ‘फाइनलअघिको फाइनल’ का रूपमा हेरेका छन्।
एकातिर किलियन एम्बाप्पेको तीव्र गतिमा आधारित फ्रान्स, अर्कोतर्फ लामिन यमलको नेतृत्वमा आकर्षक टिकी–टाका शैलीमा खेलिरहेको स्पेन। यी दुई युरोपेली फुटबल शक्तिबीचको बहुप्रतीक्षित भिडन्त हेर्न विश्वभरका फुटबल समर्थक उत्साहित छन्।
