बागमती सरकारमा हानेपा सहभागी, शैलेन्द्रमान बज्राचार्य भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

मकवानपुर – बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) औपचारिक रुपमा सहभागी भएको छ । मन्त्रिपरिषद् पुनर्गठनसँगै हानेपाका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनलाई मंगलबार अपरान्ह ४ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सपथ गराउने कार्यक्रम तय गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गरेका हुन् ।

पुनर्गठनअनुसार बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यससँगै हानेपाले दोस्रो पटक बागमती प्रदेश सरकारमा प्रतिनिधित्व गरेको हो ।