काठमाडौं । काठमाडौं महानगरपालिका–१९ स्थित ऐतिहासिक यट्खा पाटीको पुनर्निर्माण हुने भएको छ। पाटीको मौलिक स्वरूप, वास्तुकला तथा ऐतिहासिक महत्वलाई कायम राख्दै पुनर्निर्माण गर्न लागिएको हो।
पाटी पुनर्निर्माणको शिलान्यास काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष राजेश श्रेष्ठले एक कार्यक्रमबीच गरेका छन्। पुनर्निर्माणपछि पाटीलाई कलात्मक तथा मौलिक स्वरूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताए।
वडा सदस्य चन्द्रमान डंगोलका अनुसार यट्खा पाटी स्थानीय ओजनारायण र मिभलक्ष्मीको पहल तथा लगानीमा निर्माण भएको ऐतिहासिक संरचना हो। स्थानीय भनाइअनुसार तत्कालीन समयमा जुवा खेलेर आर्जन गरेको रकम घर लैजानु हुँदैन भन्ने सामाजिक मान्यताका कारण ओजनारायण र मिभलक्ष्मीले आपसी सल्लाहमा सामाजिक तथा सांस्कृतिक प्रयोजनका लागि पाटी निर्माण गरेका थिए।
डंगोलले नयाँ संरचना निर्माण गर्दा पुरानो पाटीको मौलिकता, वास्तुकला र ऐतिहासिक पहिचानलाई सकेसम्म संरक्षण गरिने बताए।
वडाध्यक्ष श्रेष्ठका अनुसार पाटी पुनर्निर्माणका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुनेछ। आधुनिक सुविधासहितको संरचना निर्माण गरिए पनि यसको स्वरूप तथा वास्तुकलामा मौलिकता झल्काउने गरी निर्माण गरिने उनले बताए।
शिलान्यास कार्यक्रममा पाटी निर्माणका तत्कालीन दाताका पछिल्ला पुस्ताका सदस्यहरूको समेत उपस्थिति थियो। उनीहरूले ऐतिहासिक सम्पदाको पुनर्निर्माण तथा संरक्षणको काम अघि बढाइएकोमा खुसी व्यक्त गरेका थिए।
स्थानीयस्तरमा रहेका पुराना पाटी, पौवा तथा अन्य सम्पदाले काठमाडौंको सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको उल्लेख गर्दै वडाध्यक्ष श्रेष्ठले यस्ता सम्पदाको संरक्षणलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताए।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१९ का वडा सभापति गोविन्द श्रेष्ठ, वडा सदस्य दिनेमान जोशीलगायत जनप्रतिनिधि, स्थानीयवासी तथा दाताका परिवारका सदस्यहरूको सहभागिता थियो।
