पाँच दशकपछि फर्किएको ‘मुनासः ख्यालः कासा’मा ‘कयता तंम्ह नेवाः’ प्रथम

काठमाडौं । नेपालभाषाको हास्यव्यङ्ग्य रङ्गमञ्चलाई पुनः जीवन्त बनाउने उद्देश्यसहित आयोजित ‘मुनासः ख्यालः कासा’मा नेपालभाषा सिनेमा विकास केन्द्रको प्रहसन ‘कयता तंम्ह नेवाः’ प्रथम भएको छ। प्रथम स्थानसँगै उक्त प्रहसनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

काठमाडौंको नेपाल पुलिस क्लबमा गत मंगलबार र बुधबार सम्पन्न उपत्यकाव्यापी नेपालभाषा ख्यालः प्रतियोगितामा ख्वप सांस्कृतिक खलःको ‘थ्व छु जूगु?’ दोस्रो र थेच्व सांस्कृतिक मंका खलःको ‘इमर्जेन्सी श्राद्ध’ तेस्रो भएका छन्। प्रथमाञ्जली नासः खलःको ‘छन्त नं थथे याये यःला’ ले सान्त्वना स्थान हासिल गरेको छ।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने प्रहसनले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

त्यस्तै, ‘छन्त नं थथे याये यःला’बाट उमेश स्थापित उत्कृष्ट अभिनेता बने भने ‘इमर्जेन्सी श्राद्ध’बाट शान्ता महर्जनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्। ‘छन्त नं थथे याये यःला’बाट मीरा डंगोल उत्कृष्ट शृङ्गारकर्ता घोषित भइन् भने ‘ह्विलचियरं कुतुंवःम्ह नेवाः’बाट कविन महर्जनले उत्कृष्ट मञ्च शृङ्गारको पुरस्कार पाए।

कार्यक्रमको पहिलो दिन महजोडी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। जसमा मल्लके सुन्दरप्रतियोगिताबारे आफ्नो मन्तव्य राखेका थिए। उनले नेपालभाषाको ख्यालः परम्परा तथा यसको संरक्षण र प्रवर्द्धनमा यस्ता प्रतियोगिताको महत्त्वबारे धारणा व्यक्त गरेका थिए।

प्रतियोगिताको दोस्रो दिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित भएकी थिइन्। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने समूहलाई कीर्तिपुरका नगरप्रमुख कृष्णमान डंगोल र महजोडीका मदनकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।

साहित्यकार तथा नाट्य निर्देशक रमेशकाजी स्थापितको संयोजकत्वमा गठित निर्णायक मण्डलमा जनसंगीतका स्रष्टा अमरराज शर्मा राजोपाध्याय, वरिष्ठ अभिनेता राजेन्द्र मान शाक्य, गणेश सायमि र साहित्यकार शम्भुराम श्रेष्ठ सदस्य थिए।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र तुलाधरले आगामी वर्ष पनि यही समयमा ख्यालः प्रतियोगितालाई निरन्तरता दिने घोषणा गरेका थिए। नेवाः कला, संस्कृति तथा हास्यव्यङ्ग्यको क्षेत्रमा लामो इतिहास बोकेको मुनासःले करिब पाँच दशकको अन्तरालपछि ‘ख्यालः कासा’ पुनः आयोजना गरेको हो। कुनै समय नेपालभाषाको नाट्य क्षेत्रमा प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित यस कार्यक्रमले नेपालभाषाको मौलिक हास्यव्यङ्ग्य विधालाई पुनः मञ्चमा ल्याएको छ।