काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ ।
मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेकोले दुई दिन बिजुली आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको बिजुली आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाका अनुसार दुई दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेशनबाट बिजुली आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ ।
