२६५ गायकगायिकाको स्वरमा ‘जय जय यल देय्’ सार्वजनिक

ललितपुर। नेपाल भाषा र पाटनको सांस्कृतिक वैभवलाई समेटिएको गीत ‘जय जय यल देय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्माताको भूमिकासमेत रहेका शाक्यको शब्द रचनामा तयार भएको गीतमा २ सय ६५ जना गायकगायिकाको स्वर र ६३ जना कलाकारको अभिनय समेटिएको छ।

उक्त गीत मङ्गलबाजारको एक कार्यक्रममा भव्य रुपमा सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सम्पूर्णलाई प्रमुख अतिथिको आसन ग्रहण गर्दै सुरुवात गरेको थियो ।

गीतमा वरिष्ठ संगीतकार मनराजा नकर्मीले संगीत भरेका छन् भने भूपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन्। विश्वास बज्राचार्य एवं समूहले निर्माण गरेको म्युजिक भिडियोमा पाटनको मौलिक संस्कृति, सम्पदा, कला र परम्परालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतले नेपाल भाषा र पाटनको सांस्कृतिक पहिचानलाई सामूहिक सांगीतिक प्रस्तुतिमार्फत उजागर गरेको वरिष्ठ संगीतकार नकर्मीले बताए। पाटनका जात्रा, पर्व, कला, वास्तुकला तथा परम्पराको महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन गीतसंगीत प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।

म्युजिक भिडियोका निर्देशक बज्राचार्यले भिडियोले नेपाल भाषा र पाटनको मौलिक संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल भाषा र गीतसंगीतको क्षेत्रमा सक्रिय शाक्यका यसअघि ‘ल्ववना’, ‘जिगु मिखाया न्हयोनय्’ लगायत तीनवटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्। ‘जय जय यल देय्’ मार्फत पाटनको सांस्कृतिक वैभवलाई अझ व्यापक रूपमा चिनाउने प्रयास गरिएको छ।