चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढीले दिए उजुरी

काठमाडौँ– दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन्।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दशैँअघि इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका हुन्। हाल पनि त्यस्ता उजुरी प्राप्त भइरहेको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले जानकारी दिए।

श्रम ऐन २०७४ मा रोजगारदाताले कर्मचारीलाई वर्षको एकपटक खाइपाइ आएको एक महिनाको तलब बराबर खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ। नेपालमा विशेष गरेर दशैंमा यस्तो खर्च रोजगारदाताले उपलब्ध गराउने गरेका छन्।

तर दशैंमा ऐनमा भएको व्यवस्थाअनुसार आफूहरूले चाडपर्व खर्च नपाएको गुनासो विभागमा प्राप्त भएको छ।

उजुरी प्राप्त भएपछि विमागले उजुरीको सुनुवाइ थालनी गरेको महानिर्देशक पाण्डेले जानकारी दिए। उनकाअनुसार चाडपर्व खर्च नपाएको श्रमिकको उजुरीपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई रकम भुक्तानी गर्न विभागले निर्देशन दिएको थियो।

कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीको चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो। त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेश गरेको छ।

विभागले सामाजिक सञ्जालमार्फत आएका गुनासोका आधारमा समेत सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम उपलब्ध गराउन अग्रसरता लिएको छ।

विभागले दशैँ बिदाअघि नै श्रमिकलाई दशैं खर्च उपलब्ध गराउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो।

असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गरी निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो।

तर कतिपय रोजगारदाताले निर्देशनसमेत नमानेको पाइएको छ।