काठमाडौं । नेपाल संवत् ११४७ को स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा सुगतरत्न कंसाकारलाई नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको अध्यक्षमा नियुक्त गरिएको छ।
गत शुक्रबार काठमाडौंको नेपाल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाल संवत् ११४६ का अध्यक्ष प्रेमहिरा तुलाधरले समारोह समितिको कार्यविधिअनुसार कंसाकारलाई नयाँ अध्यक्षका रूपमा घोषणा गर्नुभएको हो।
कार्यक्रममा न्हूदँ संरक्षण समाजका संरक्षक प्रा.डा. नरेशमान बज्राचार्यले सुगतरत्न कंसाकार नेपालकै एक कुशल तथा दक्ष प्रशासक भएको बताउनुभयो। उहाँले नेपाल संवत् न्हूदँलाई वर्षभरि निरन्तरता दिन विभिन्न क्षेत्रका अभियन्ता तथा व्यक्तिहरूको नेतृत्वमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
यसै अवसरमा नेपाल संवत् ११४७ का लागि १०७ सदस्यीय समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत ३५ सदस्यीय सचिवालयसमेत चयन गरिएको छ। सचिवालयको पहिलो बैठक शनिबार बसेको थियो। बैठकले विभिन्न २० वटा उपसमिति गठन गर्ने निर्णय गरेको जनाइएको छ।
नेपाल संवत् ११४७ आगामी कछलाथ्व पारु अर्थात् कार्तिक २४ गतेदेखि सुरु हुँदैछ। नयाँ वर्षको अवसरमा विगतका वर्षहरूमा झैँ काठमाडौंको वसन्तपुरमा भिन्तुना र्याली तथा भिन्तुना सभाको आयोजना गरी नयाँ वर्ष मनाउने तयारी समारोह समितिले गरेको छ।
नयाँ अध्यक्ष कंसाकारको नेतृत्वमा नेपाल संवत् न्हूदँको प्रवर्द्धन, संरक्षण तथा राष्ट्रियस्तरमा यसको महत्व स्थापित गर्ने गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
