सुदूरपश्चिमलाई फेरि हराएर फाइनल पुग्ने दाउमा लुम्बिनी

काठमाडौं। उपाधि जित्नु एउटा उपलब्धि हो। र, त्यसलाई फेरि दोहोर्‍याउने बाटोमा उभिनु अर्को चुनौती।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्स अहिले यही चुनौतीको सामना गरिरहेको छ। गत संस्करणको च्याम्पियन लुम्बिनी यसपटक पनि उपाधिको दौडमा बलियो दाबेदारका रूपमा उभिएको छ। तर, फाइनल प्रवेशको ढोकामा उसको पुरानो प्रतिद्वन्द्वी छ, सुदूरपश्चिम रोयल्स।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार हुने यो पहिलो क्वालिफायर लुम्बिनीका लागि फाइनल पुग्ने खेल होइन, आफ्नो सामर्थ्य फेरि प्रमाणित गर्ने अवसर पनि हुनेछ।

लिग चरणमा देखाएको प्रदर्शनले लुम्बिनीलाई यो अवसर दिलाएको हो। सात खेलबाट पाँच जित, एक हार र एक खेलमा नतिजा नआउँदा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रह्यो। टोलीले प्रतियोगिताभर ब्याटिङ र बलिङ दुवैमा सन्तुलन देखाएको छ।

लुम्बिनीको आत्मविश्वासको अर्को आधार सुदूरपश्चिमविरुद्धकै पछिल्लो नतिजा हो। लिग चरणमा भएको पहिलो भेटमा उसले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। जवाफमा लुम्बिनीले ९.५ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

त्यस खेलमा लुम्बिनीको जितका दुई मुख्य आधार थिए–बलिङको धार र ब्याटिङको आक्रामकता। शेर मल्लले तीन विकेट लिँदा किशोर महतोले चार विकेट झारेका थिए। ब्याटिङमा डार्सी शर्टले १८ बलमा ४० र आसिफ शेखले २५ बलमा ३२ रन बनाएका थिए।

यसपटक पनि लुम्बिनी आफ्नो यही संयोजनमा भरोसा गर्नेछ। डार्सी शर्ट र आसिफ शेखको आक्रामक सुरुआत टोलीको ब्याटिङको आधार बनेको छ। कप्तान रोहित पौडेलले आवश्यकताअनुसार इनिङ्स सम्हाल्दै आएका छन्। मध्यक्रममा सन्दीप जोराको उपस्थिति लुम्बिनीका लागि अर्को बलियो पक्ष हो।

जोराले विराटनगर किङ्सविरुद्धको पछिल्लो खेलमा आफ्नो क्षमता देखाइसकेका छन्। अन्तिम दुई ओभरमा ३३ रन आवश्यक हुँदा उनले ११ बलमा २५ रन बनाएर टोलीलाई जिततर्फ डोर्‍याएका थिए। दबाबको अवस्थामा खेलको नतिजा बदल्न सक्ने यस्तै खेलाडी लुम्बिनीको शक्ति हुन्।

बलिङमा पनि लुम्बिनी कमजोर छैन। शेरले ६ खेलमा नौ विकेट लिएका छन्। किशोर र रुबेन ट्रम्पलम्यानले समान आठ विकेट हात पारेका छन्। विपक्षीलाई फरक–फरक कोणबाट दबाब दिन सक्ने यी बलर लुम्बिनीका मुख्य हतियार हुन्।

तर, बलियो टोली हुनु र निर्णायक खेल जित्नु फरक कुरा हुन्। लुम्बिनीको शीर्षक्रम चाँडै आउट भएमा मध्यक्रममाथि दबाब बढ्ने गरेको देखिँदै आएको छ। त्यसैले सुदूरपश्चिमको बलिङ आक्रमणविरुद्ध सुरुआती ब्याटरले जिम्मेवारी लिनुपर्नेछ।

कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचन पनि टोलीको बलिङप्रति विश्वस्त छन्। यद्यपि‚ ब्याटिङमा अझै सुधार आवश्यक रहेको उनको बुझाइ छ। युवा खेलाडी अभिषेक गौतमको प्रदर्शन र कप्तान रोहितको नेतृत्वलाई उनले टोलीको सकारात्मक पक्षका रूपमा लिएका छन्।

‘हाम्रो बलियो पक्ष बलिङ हो र हामीले त्यसलाई राम्रोसँग प्रयोग गरिरहेका छौं। ब्याटिङमा भने अझै सुधार गर्नुपर्ने ठाउँ छ। अभिषेक गौतमजस्ता युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। कप्तान रोहितले पनि खेलको अवस्था बुझेर सही समयमा सही निर्णय लिइरहेका छन्,’ उनी भन्छन्।

लुम्बिनीका सुदूरपश्चिमसँगको प्रतिस्पर्धा नयाँ होइन। सन् २०२४ मा पहिलो भेटमा सुदूरपश्चिमले ४५ रनको जित निकालेको थियो। सन् २०२५ को लिग चरणमा पनि उसैले लुम्बिनीलाई सात विकेटले हराएको थियो। तर, त्यही संस्करणको फाइनलमा लुम्बिनीले ६ विकेटको जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो।

यसपटकको लिग चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराइसकेको छ। अर्थात् पछिल्लो समय महत्त्वपूर्ण खेलमा लुम्बिनीको आत्मविश्वास बढ्दो छ। पहिलो क्वालिफायर जिते लुम्बिनीले नोभेम्बर २१ मा हुने फाइनलमा स्थान बनाउनेछ। त्यसका लागि उसले आफ्नो ब्याटिङ र बलिङको धारलाई एकैपटक मैदानमा उतार्नुपर्नेछ।