काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज इलिमिनेटर चरणको खेल हुँदै छ। समूह चरणको प्रतिस्पर्धाका आधारमा तेस्रो र चौंथो स्थानमा रहेका टोलीबीच हुने प्रतिस्पर्धामा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ। विजेता टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ।
आजको खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दा एक टोलीको यात्रा यही समाप्त हुने छ। कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ४:३० बजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुने छ।
दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्ने छ। समूहचरणमा काठमान्डु गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो भने चितवन राइनोज चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाउने छ।
काठमान्डुले समूह चरणका सात खेलबाट ४ खेलमा जित र ३ मा हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थान सुरक्षित गर्दै प्लेअफमा पुग्दा चितवन राइनोज भने ७ खेलमा तीनमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाडेर प्लेअफमा स्थान सुरक्षित गरेको हो।
