बेखामानदाई’को भूमिकामा देखिँदै सुरेन्द्र तुलाधर

नेपालभाषाको संगीत तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय रंगकर्मी सुरेन्द्र तुलाधर अब नयाँ पहिचान सहित ‘बेखामानदाई’ को रूपमा दर्शकमाझ आउने भएका छन्।

विभिन्न सांगीतिक तथा म्युजिक भिडियोमा फरक–फरक भूमिकामा अभिनय गरिसकेका तुलाधर यसपटक ‘बेखामानदाई’ नामक नयाँ म्युजिक भिडियोमा देखिन लागेका हुन्। उक्त गीतमा काजुकि जेजेले स्वर दिएका छन्।

म्युजिक भिडियोमा तुलाधरसँगै लोकप्रिय उद्घोषिका सुजाता शाक्य बज्राचार्य पनि पहिलोपटक मोडलका रूपमा देखिने भएकी छन्। भिडियोमा कृष्णभक्त महर्जन, भीमसेन रिसाल, भोगेन्द्र मानन्धर, देवकुमार महर्जन र राजु देसार लगायतको अभिनय रहेको छ।

भिडियोको निर्देशन स्वयं सुरेन्द्र तुलाधरले गरेका छन् भने छायांकन सोहन मानन्धरले गरेका हुन्। भिडियोको कथा कृष्णभक्त महर्जनले तयार पारेका हुन्। मुख्य सहायक निर्देशकमा भोगेन्द्र मानन्धर र सहायक निर्देशकमा राजु देसार रहेका छन्।

म्युजिक भिडियोको छायांकन सम्पन्न भइसकेको र हाल सम्पादनलगायतका प्राविधिक कार्य भइरहेको निर्देशक तुलाधरले जानकारी दिएका छन्। उनले भिडियो चाँडै सार्वजनिक गरिने बताएका छन्।