काठमाडौं । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्झनामा मनाइने शंखधर दिवस तथा नेपाल संवत् ११४७ को अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
आज लखुतीर्थस्थित जगत सुन्दर ब्वनेकुथिको सभाहलमा आयोजित कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला अध्यक्ष रत्नकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले क्यालेण्डर विमोचन गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशका अध्यक्ष विराजकाजी राजोपाध्याय, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला अध्यक्ष भीमबहादुर लामा तथा नेपाल पत्रकार महासंघकी अध्यक्ष शोभा अर्यालको उपस्थिति रहेको थियो।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य एवं प्रकाशन समितिका संयोजक रवीन्द्र बज्राचार्यले स्वागत मन्तव्य राख्दै सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेवाः पत्रकारहरूको हकहित तथा राज्यस्तरबाट छापा पत्रकारिताको क्षेत्रमा भइरहेका विभिन्न गतिविधिबारे आफ्नो धारणा व्यक्त गरेका थिए।
सभापति रत्नकाजी महर्जनले काठमाडौं जिल्ला समितिले गर्दै आएका विभिन्न गतिविधि तथा नेपाल संवत्को क्यालेण्डर प्रकाशनको महत्वबारे चर्चा गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
नेवाः पत्रकार राष्ट्रिय दबूले पहिलोपटक क्यालेण्डर प्रकाशन गरेको हो। आगामी दिनमा यसलाई अझ परिष्कृत गर्दै म्यागजिनसमेत प्रकाशन गर्ने तयारी भइरहेको प्रकाशन समितिका संयोजक रवीन्द्र बज्राचार्यले जानकारी दिएका छन्।
