सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

काठमाण्डौ –  नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमा बिना विकेट पूरा गर्‍यो। सुदूरपश्चिमको जीतमा जर्ज मुन्सीले  ५४ बलमा अविजित १२५ रनको शतकीय इनिङ्स खेले । विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि लागि दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको  थियो। यस पटक भने उपाधि जित्न सफल भएको हो ।