वीर अस्पतालमा आकाशे पुल निर्माणका लागि शिलान्यास

काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, वडा नं. २७ का वडाध्यक्ष योगेश खड्गी तथा वीर अस्पतालका वरिष्ठ चिकित्सकहरूको उपस्थितिमा वीर अस्पतालमा आकाशे पुल निर्माणका लागि शिलान्यास गरिएको छ।

महाबौद्धस्थित वीर अस्पतालमा बिहीबार बिहान विधिवत् पूजा गरी आकाशे पुल निर्माणको शिलान्यास गरिएको हो।

कार्यवाहक मेयर डंगोलले वीर अस्पताल अत्यधिक व्यस्त हुने भएकाले पुरानो भवनबाट नयाँ भवनतर्फ जाने क्रममा बिरामी तथा चिकित्सकलाई हुने असहजता हटाउन महानगरपालिकाले आकाशे पुल निर्माणको काम अघि बढाएको बताइन्।

वडाध्यक्ष योगेश खड्गीले पनि आकाशे पुलको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको भन्दै निर्माण सम्पन्न भएपछि बिरामी, चिकित्सक तथा कुरुवाहरूलाई सहज हुने बताए।

वीर अस्पतालमा दैनिक सेवाग्राहीको चाप उच्च रहने भएकाले विभिन्न भवनबीच आवतजावत गर्दा हुने समस्या समाधान गर्न आकाशे पुल निर्माण गर्न लागिएको हो।