मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएको छ।
छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिए । उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्य समेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उनले घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो । छानबिन समितिले श्रेष्ठसँग मंगलबार एकघण्टा बढी बयान लिएको थियो ।बयानका क्रममा पहिले श्रेष्ठले आफ्नो भनाई नरहेको बताएका थिए । “कसैले क्यारिकेचर गरेर बनाएको भन्ने बयान थियो,” एक सदस्यले भने, “तर समितिमा पछि उहाँले गल्ती महसुस गर्दै आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभयो ।”
यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको उनको भनाई थियो ।
