कसाः तःधं गुथि, मिसा पुचःको आयोजना तथा जोन्ता क्लब अफ काठमाण्डौंको सह आयोजनामा अधिवक्ता पुन देवी महर्जनबाट बाल विवाह, घरेलु हिंसा, महिला अधिकार लगायत कानूनी प्रावधान के कस्तो छ भन्ने बारे चेतनामूलक कार्यक्रम कसाःख्यः, दल्लु आवासमा ने.सं. ११४५ दिल्लाथ्वः एकादशी, आइतबार (२०८२ असार २२ गते) दिउँसो सम्पन्न भएको छ ।
उदाय महिलाहरुले पनि कानूनका कुरा राम्ररी बुझ्नु पर्ने विषयमा मध्यनजर राखी यस प्रकारको कार्यक्रम गरिएको र यस कार्यक्रममा कसाः मिसा पुचःका अध्यक्ष वीणा कसाःले स्वागत मन्तब्य राख्नुभएको छ । वहाँले कसाः मिसा पुचः बारे पनि जानकारी दिनुभयो । उक्त कार्यक्रममा जोन्ता क्लब काठमाण्डौंंका यानो वीणा राणाले जोन्ता क्लब काठमाण्डौंका बारे जानकारी दिनुभएको छ ।
कसाः मिसा पुचःका सुलग्ना कसाःले सञ्चालन गर्नुभएको यस कार्यक्रममा जोन्ता क्लब काठमाण्डौंका अधिवक्ता कमिटीका अध्यक्ष रत्ना कार्कीले यस संस्थाले महिला अधिकारको विषयलाई समेटेर कानूनी क्षेत्रमा निभाउँदै आएको भूमिकाको विषयमा बताउनु भएको छ ।
उक्त जनचेतनामूलक कार्यक्रममा कसाः मिसा पुचःका कोषाध्यक्ष रत्नकमल कसाःले यस कार्यक्रमका मूल वक्ता अधिवक्ता पुनदेवी महर्जनको परिचय दिनुभएको र अधिवक्ता महर्जनले महिला अधिकारको विविध पक्षलाई समेटेर एक घण्टा भन्दा बढी समय सम्म संविधान र कानूनमा भएको अधिकारको विषयमा बताउनुभयो । साथै, सहभागीहरुले राख्नु भएको विभिन्न प्रश्नहरुको जवाफ पनि वहाँले दिनुभयो ।
कार्यक्रमको अन्तमा पुचःका उपाध्यक्ष अमिता कसाःले सहभागी सबैलाई धन्यवाद सहित आफ्नो मन्तब्य राख्नुभयो ।
