हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं –  काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा (तिसाः मालेगु जात्रा) हिजो शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। त्यसक्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । त्यतिबेलादेखि नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ ।