काठमाडौं – आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ ।
दुई महानगरपालिका काठमाण्डौ र ललितपुर तथा काठमाण्डौका तीन वटा नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा सेवा विस्तार हुन बाँकी छ । बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।
बीमा नवीकरण गर्नेहरु ७० प्रतिशत रहेका छन् । देशभरका ४ सय ५६ स्वास्थ्य संस्थाबाट बीमाबापत प्राप्त गर्ने सेवा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमबाट ७ वर्षमा ३३ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । सरकारको अनुदान र नागरिकको बीमाबाट उठेको रकमबाट भुक्तानी हुँदै आएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा सुविधा व्यवस्था छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुई सय रुपैयाँ बुझाउनु पर्छ ।
