काठमाडौँ– इन्द्रजात्रा पर्वको चाैथाै दिन आज कुमारीको रथ काठमाडौँको माथिल्लो क्षेत्रमा तानेर थनेयाः मनाइँदैछ ।
आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई माथिल्लो क्षेत्र अर्थात वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखनमा तानेर, हनुमान ढोका हुँदै वसन्तपुरमा फर्काइनेछ।
हिजो जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई काठमाडौँको तल्लो क्षेत्र अर्थात मरू जैसीदेगल, लगनसम्म तानेर बसन्तपुरमा फर्काइएको थियो। हिजो राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको थियो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राकाे अवसरमा राष्ट्रपति पौडेलले न्युराेडकाे जुद्ध शालिकबाट पैदलै हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकमा गएर जात्रा अवलोकन गर्नुभएको थियो ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध शालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
