जर्मनीमा जारी युरो कप फुटबलमा आज मंगलबार मध्यरातिबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा दुई हेभिवेट र उपाधि दाबेदार टिमहरू स्पेन र फ्रान्सको घमाशान भिडन्त हुँदैछन । यो खेलबाट एक टिमको यात्रा सकिनेछ भने एक टिम उपाधि नजिक पुग्नेछ । यो खेलपछि यस युरो कपले पहिलो फाइनालिस्ट पाउनेछ । क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगलमाथि १२० मिनेट खेलेपछि पेनाल्टी सुटआउटमा ५–३ को जित निकालेको थियो भने स्पेनले १२० मिनेटसम्म खेलेर आयोजक जर्मनीलाई २–१ ले हराएको थियो । सेमिफाइनलसम्म पुग्दा फ्रान्सभन्दा स्पेन उत्कृष्ट लयमा देखिएको छ ।
यस युरोपमा सुरुआतबाटै स्पेनले उत्कृष्ट खेल देखाउँदै आएको छ । स्पेनले गोल पनि प्रशस्तै गरिरहेको छ भने फ्रान्स लगातार गोलका लागि संघर्ष गरिरहेको छ । यस युरोमा फ्रान्सले हालसम्म ३ गोल गर्दा २ गोल उपहारमा पाएको छ भने आफूले १ गोल मात्रै गरेको छ, त्यो पनि पेनाल्टीमार्फत् गरेको छ । स्पेनले आयोजक जर्मनीलाई १२० मिनेटभित्रै २–१ ले हराउँदा निकै शानदार प्रदर्शन गरेको थियो । यता, फ्रान्सले पोर्चुगललाई हराउन पेनाल्टीसम्म संघर्ष गर्नु परेको थियो । यस युरोको प्रदर्शन र नतिजालाई हेर्ने हो भने फ्रान्समाथि स्पेन हाबी हुने अनुमान गर्न सकिन्छ ।
