क्यालिफोर्नियाको जंगलमा बुधबार अचानक आगो लागेको छ। क्यालिफोर्नियाका गर्भनर ग्याबिन न्युसमले ३ सय ६७ स्थानमा आगो लागेको र यसको सबैभन्दा ठूलो प्रभाव २३ ठाउँमा देखिएको बताएका छन्।
अग्नी नियन्त्रण विभागका कर्मचारी अहिले पनि आगो निभाउन सक्रिय छन्। यो शहरमा आपतकालको घोषणा गरिएको छ। आगो निभाउन सक्रिय रहेको एउटा हेलिकोप्टर दूर्घटनाग्रस्त हुँदा पाइलटसमेत दुई जनाको निधन भएको छ।
लस एन्जलसमा हलिउड स्टारहरुका आलेसान घरहरु आगोमा लीन भएका छन्। लाखौं मानिसहरु विस्थापित छन्। लस एन्जलस र यसको वरपरका क्षेत्रहरूमा केवल आगोका लप्काहरु मात्र देख्न सकिन्छ। छुट्टाछुट्टै आगलागीका घटनामा १ हजारभन्दा बढी संरचनाहरु नष्ट भइसकेका छन्। यी क्षेत्र हलिउडका फिल्म स्टारहरूको आलिशान भवनहरूले भरिएका छन्। अर्बौंका संरचना छिनभरमै ध्वस्त भइरहेका छन्।
सबैभन्दा भयावह विनाश प्रशान्त पालिसेड्सको रमणीय क्षेत्रमा देखियो जहाँ हजारौं पर्यटकहरु आउने ठाउँहरु अहिले ‘भग्नावशेष’ जस्तो देखिएको छ। मंगलबारदेखि सुरू भएको हावाको तीव्रतासँगै आगोले केही समयमै सय एकड क्षेत्रबाट १५ हजार एकडभन्दा बढी क्षेत्रमा फैलाइदियो।
क्यालिफोर्नियाको जंगली क्षेत्रको वरिपरि मानववस्ती बढ्दै गएका कारण मानवीय दुर्घटना अधिक हुने गरेको छ।
गत वर्ष क्यालिफोर्नियाको जंगलमा ८५ वर्षयता कै सबैभन्दा भीषण आगो लागेको थियो। यतिबेला ३१ जनाको निधन भएको थियो भने सयौं मानिस बेपत्ता भएका थिए।
