जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नद्वारा लिखित पुस्तक गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स, काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्जले एक समारोहमा सार्वजनिक गर्नुभएको छ । काठमाडौंको साँस्कृतिक स्थल यत्खा बहालमा भएको पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि उपमेयर डंगोलले लेखक कोर्नको नेपाली सम्पदा संरक्षणमा अतुलनीय योगदान रहेको बताउनुभयो । नेपालको सम्पदाहरुको चित्रांकण नभएको समयमा कोर्नले ती सम्पदाको चित्रान्कण गरेर नेपाली सम्पदाको संरक्षणमा ठुलो गुण लाउनुभएको डंगोलले बताउनुभयो । युवा पुस्ताले नदेखेको समयको नेपालको वर्णन यस पुस्तकमा पाउन सकिने बताउनुभयो । आफु पहिलो पटक विदेश भ्रमण गर्दा जर्मनी नै गएको र त्यहाँ हरेक पाइलामा कल्चरल सक भएझै ५५ वर्ष अघि जर्मनबाट नेपाल आएका कर्नको त्यो बेलाको अनुभव पढ्न आतुर भएको बताउनुभयो । नेपाल सधैं कर्नप्रति ऋणी रहेको डंगोलले बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि नेपालका लागि जर्मन राजदुत प्रिन्जले यस पुस्तकले एक जर्मन नागरिकको नेपालमा योगदान मात्र उजागर नगरी नेपाल र जर्मनको सम्बन्धपनि उजागर गरेको बताउनुभयो । सम्पदा संरक्षण एक लामो यात्रा रहेको र यसमा जर्मनीको साथ रहने राजदुत प्रिन्जले बताउनुभयो ।
लेखक तथा आर्किटेक्ट कोर्नको ५० वर्ष अधिको चित्रान्कणकै प्रयोग गरी २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुननिर्माण समयमा सम्भव भएको थियो । त्यसैगरी काठमाडौं, ललितपुर र भक्तपुरका दरबार र सम्पदाको संरक्षण कार्यमा पनि उहाँको उल्लेख्य योगदान रहेको छ ।
प्रकाशक संस्था ‘बाखं न्यने वा’ का तर्फबाट संस्थाका सचिव रिजा जोशीले यो पुस्तक आर्किटेक्चरसँग सम्बन्धित नभइ आर्किटेक्टको नेपाल अनुभव भएको जानकारी दिनुभयो । त्यसैगरी पुस्तक प्रकाशनका संयोजक एलिना ताम्रकारले पुस्तकमा लेखकले लेखेको डायरी, चिठि र यादहरुको संगालो रहेकोले उहाँको व्यक्तिगत भोगाइ भएको बताउनुभयो ।
लेखक कोर्नले आर्किटेक्ट पढाइ सकेर जर्मनमा सेनामा अनिवार्य जानुपर्ने वा देश बाहिर स्वयंसेवा गर्नु पर्नेमा आफुले स्वयंसेवा रोजेको र त्यसमा पनि नेपाल कर्मक्षेत्र रोजेको बताउनुभयो । नेपाल आउँदा आफुलाई नेपाल, काठमाडौं र एभरेस्ट तीन शब्द मात्र थाहा भएको र नेपाल पुगे पछि आफु अर्कै संसारमा पुगेको अनुभव बताउनुभयो । हरेक पाइलामा साँस्कृतिक विभिन्नता, नेपालीहरुको आत्मियता, प्राकृतिक तथा साँस्कृतिक सौन्दर्य साथै जातिय भेडभाव, सम्पन्न र विपन्नको दुरी, प्रत्यक्ष अनुभव यस पुस्तकमा समेतिएको छ ।
कोर्न नेपालका आर्किटेक्टहरुको लागि चिरपरिचित नाम हो । कोर्नका ‘द ट्रेडिसनल आर्किटेक्चर अफ दि काठमाण्डु भ्याली’, ‘द स्तुपाज एन्ड द चैत्यज’, ‘द शिखर्ज’ लगायतका पुस्तकहरु उपलब्ध छन् । वास्तुकला अध्ययन गर्नेले उहाँको पुस्तक पढ्ने गर्दछन् ।
समारोह बाखँ न्यने वाका अध्यक्ष अश्विन वीर ताम्राकारले धन्यवाद ज्ञापन गर्दै समापन भएको थियो ।
