काठमाडौं महानगरले राप्रपालाई सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर गरिएको भन्दैएक लाख जरिवाना तिराउने भएकाे छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुगेको कारण देखाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
कार्यक्रममा सहभागीहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरूवाका साथै रेलिङमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोर गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ।

