कंग अजिमा खलः यतखा टोलमा पाहांचहे पर्वको योसिं ठडियो

काठमाडौं– पाहांचहे पर्वको अवसरमा काठमाडौं महानगर पालिका वडा नं १९ स्थित हात्तिखेलमा योसिं ठड्याउने कार्य आज सम्पन्न भएको छ । योसिं ठड्याउने कार्य कंग अजिमा खलःका सदस्यहरुबाट उत्सुकता पूर्वक भएको हो ।

योसिंलाई हात्ति खेलमा पुर्याएपछि खलःका सदस्यहरुले त्यहां सेतो र रातो रंगबाट बाला हुने गरी लगाएका थिए । योसिंको टुप्पोमा रुखको पातको झुृप्पो पनि बाधिएको थियो भने योसिंलाई तान्नका लागि योसिंमा डोरीले पनि बाधिएको थियो । यसरी योसिंलाई डोरी बाधेर खलःका नायोको अनुमतिमा खलःका सदस्यहरुले तानी योसिं ठड्याउने खाल्डोमा पारी योसिं उठाएका थिए । योसिंको फेदको एक भाग खाल्डोमा परिसके पनि योसिंलाई काठले कसिएको छ ।

कंग अजिमा खलःया सदस्यहरुबाट योसिं ठड्याउने कार्यको समयमा करीव एक घण्टा भन्दा बढी समय सम्म धिमे र कयपुं बाजा बजाएर वातावरणलाई संगीतमय बनाइ राखिएको थियो ।

उक्त कार्यमा आफ्नो दायित्व सम्झि खलःया सदस्यहरु उपस्थित भए नभएको थाहा पाउनका लागि खलःया तर्फबाट हाजिर पनि लिइएको थियो । पुजाका कार्य समाप्त भएपछि उपस्थित खलःया सदस्यहरुलाई अध्यक्षजु र थकालीहरुबाट टिका पनि लगाइएको थियो । यसरी योसिं उठाइ सकेपछि यस इलाकामा पाहांचर्हे पर्व शुरुवात हुने गर्दछ । नेवार समुदायमा पाहांचहेलाई ठूलो पर्वको रुपमा मनाउदै खत जात्रा पनि गर्दे आएको छ । कंग अजिमा खलःले कंग अजिमाको खत जात्रा धुमधामका साथ तिन दिन सम्म मनाउने प्रचलन रही आएको छ ।