समाजवादी मोर्चाको प्रदर्शन, काठमाडौँमा सवारी आवागमन प्रभावित

चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्।

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ।

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएकाे छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्। जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन्।

समाजवादी मोर्चाले सभा गर्न लागेको प्रदर्शनी मार्गलाई केन्द्रीत गरेर ट्राफिक प्रहरीले केही रुटबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्रिपुरेश्वर चोकबाट सुन्धारातिर जाने रुट पनि प्रभावित भएको छ। त्यसैगरि घण्टाघरबाट विद्युत् प्राधिकरण हुँदै सहीदगेट निस्कने रुट पनि बन्द छ।

सिंहदरबारबाट पुतलीसडक प्रदर्शनीमार्ग हुँदै चल्ने रुट पनि बन्द छ। कतिपय रुटलाई वान-वे गरिएको छ।