प्रसिद्ध ‘जिब्रो छेड्ने’ जात्रा आज

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ। यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताएका छन् ।

युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताएका छन्।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि व्रत बस्नुपर्छ । नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए ।

मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ।

मध्यपुरथिमि क्षेत्रमा आजै ३२ खटसहितको सिन्दुर जात्रा मनाइदैछ। बिस्का जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ।