म्याग्दीमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताब सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए। अफताब दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए।

बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए। मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।