हात हालाहालको स्थिति थियो ,हामीले भारत पाकिस्तानसँग कुराकानी गरेका थियौं, त्यसपछि युद्ध रोकियो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच युद्ध नहोस् भन्ने आफूहरुको चाहनामा पूरा भएको बताएका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

उनले बुद्धकाे सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’ केही दिनअघि छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको भए पनि त्यसले लडाइँको रूप लिन नपाएको भन्दै उनले नेपालले सुरुबाटै यो अवस्था युद्धमा परिणत नहोस् भन्ने चाहेर भारत पाकिस्तानसँग कुराकानी पनि गरेको र ति देशहरुले लडाइँमा नजाने प्रतिबद्धता जनाएको तर्क गरे ।

यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्‍यौँ,’ उनले भने।

साथै, उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका छन्। बुद्धका उपदेश, शान्तिका उपदेश, मानवताका उपदेश , करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।