विश्व साहित्य मञ्चमा नेपालभाषाका दुई उपन्यास

क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय, दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको ‘विश्व साहित्य मञ्चमा नेपालको साहित्य’ शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी र सेमिनारमा नेपालभाषाको दुई उपन्यास ‘सेष्टेम्बर १७’ र ‘कोरोनाया किचलय्’लाई लिएर एक विशेष सत्रमा विचार विमर्श गरिएको छ ।

नेपालभाषाको उपन्यास ‘सेप्टेम्बर १७’ मल्ल के सुन्दर र ‘कोरोनाया किचलय्’ श्रीलक्ष्मी श्रेष्ठले लेख्नुभएको हो ।

संयुक्त राज्य अमेरिका, ओरेगन राज्य पोर्टलैण्ड रीड कलेजको मानविकी र अंग्रेजी साहित्यका सहायक प्राध्यापक क्रिटिस राजभण्डारीले नेपालभाषाको यस दुई उपन्यासलाई लिएर विश्व आख्यान साहित्य क्षेत्रमा स्थान के हुन सक्दछ भन्ने विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।संसारका विभिन्न देशका विद्वान, विज्ञ, लेखकहरुले भौतिक रुपमा र अनलाइनका माध्यमले भाग लिएका यस कार्यक्रम यही अगष्ट २७ र २७ तारिख दुई दिन भएको हो ।

नेपालभाषा साहित्य विज्ञहरुका भनाई अनुसार यसरी नेपालभाषा आख्यान विधालाई लिएर अन्तर्राष्ट्रिय साहित्यिक दृष्टिकोणले नेपाल बाहिर बौद्धिक क्षेत्रमा विचार विमर्श गरिएको यो पहिलो पटक हुनुपर्दछ भन्ने देखिएको छ ।

उक्त विश्वविद्यालयको दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. आस्मा सैयदको नेतृत्वमा अघि बढेको यस कार्यलाई विश्वविद्यालयको समाज विज्ञान तथा मानविकी अनुसन्धान परिषदबाट विशेष आर्थिक सहयोग प्राप्त भएको छ ।