गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका थिए । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

बैठकमा गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन नेताहरूले भनेका थिए ।

बैठकको सुरूवातमै महामन्त्री विश्वप्रकाश शर्माले जेनजीको प्रदर्शनमा धेरै मानिसहरूको मृत्यु भएकोले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए। उक्त कुरामा समर्थन जनाउँदै अर्का महामन्त्री गगन थापाले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए। ‘सामाजिक सञ्जाल यसरी प्रतिबन्ध लगाउने कुरा स्वीकार गर्न हुँदैनथ्यो,’ थापाले भने।

यसैबीच कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ र यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराइसकिएको छ।